जनता टाइम्स

१४ असार २०७९, मंगलवार १७:५५

एसपीपीको सम्बन्धमा वास्तविक पत्र सार्वजनिक गर्न अध्यक्ष ओलीको चुनौती


काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा गरिएको पत्राचारका सन्दर्भमा सत्य, तथ्य बाहिर ल्याउन र वास्तविक पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासलाई चुनौती दिनुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको ओलीले टिपेक्स नलगाएको पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराउनुभएको हो ।

मदन जयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उहाँले यसबारेमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट पनि यथार्थ जानकारी आउनुपर्ने बताउनुभयो । उहाँले एमसीसी जनतालाई धोखा दिएर एमसीसी पास गर्ने शेरबहादुर देउवा र प्रचण्डले नै एसपीजीमा नेपाललाई लैजान खोजेको तर जनताको खबरदारीबाट पछि हटेको आरोप लगाउनुभयो ।

ओलीले सुशील कोइरालाको पालामा स्वीकृति दिइएको एसपीपीलाई प्रचण्डले अघि बढाएको भन्दै आफू प्रधानमन्त्री भएको बेला इण्डो प्यासिफिकको प्रतिवेदनमा नेपाल र भुटानको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको प्रष्ट पार्नुभयो । उहाँले एसपीजीमा मुलुकलाई लैजाने खतरा कायमै रहेको र एमसीसीमा जस्तै यो गठबन्धन अर्को जाल लिएर एसपीजीमा सामेल हुने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एसपीपीका सन्दर्भमा असोज २ मा संविधान जारी भयो । ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कोइराला भएका बेला सेनालाई स्वीकृति दिइयो । म प्रधानमन्त्री असोज २६ गते भएँ, मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ । टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ । म सरकारलाई टिपेक्स नलगाएको ओरिजिनल पत्र देखाउन चुनौती दिन्छु ।’

एसपीजीमा केपी ओलीलाई मुछ्नका लागि टिपेक्स लगाएर, चलानी नम्बर फेरेर र मिति हेरफेर गरेको हातले लेखेको पत्र बाहिर ल्याइएको भन्दै उहाँले यसबारेमा अमेरिकी दूतावासले प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ, चलानी नम्बर हातले केरमेट गरेको छ । त्यो म प्रम नहुँदै पत्र पठाइएको हो, अमेरिकन एम्बेसीले सत्य बोलोस् । तत्कालीन प्रधानसेनापतिले पनि मैले त्यति बेला निर्देशन दिएको हो कि होइन भन्न सक्नुहुन्छ ।’

अध्यक्ष ओलीले जनदबाबका कारण पछि हटे पनि गठबन्धनले एसपीजीमा जाने खतरा कायमै रहेको दाबी गर्नुभयो । उहाँले अहिले सार्वजनिक भएको मस्यौदा गठबन्धन सरकार बनेपछि तयार भएको भन्दै एमसीसीकै बेला देउवा र प्रचण्डले एसपीजीमा सहमति जनाएको दाबी गर्नुभयो ।