जनता टाइम्स

१४ असार २०७९, मंगलवार १९:०२

सर्वध्वज लिम्बुले संसदमा गीत गाउँदै सोध्नुभयो, ‘सोइ ढोले सोइ…, मुख्यमन्त्री खोइ’


काठमाडौं, १४ असार । नेकपा एमालेका प्रदेश नं १ का प्रदेश सभा सदस्य सर्वध्वज साँवा लिम्बुले संसदमा गीत गाउनुभएको छ । आज बजेट माथिको छलफलका लागि रोष्टममा उहाँले मुख्यमन्त्री र मन्त्रीहरू आफ्नो कुर्चीमा नरहेपछि आफूलाई अल्छि लागेको भन्दै गीत गाउनुभएको हो । बजेट माथिको छलफलमा मुख्यमन्त्री मात्रै होइन अर्थमन्त्री नै नभएपछि काम नभएका र काम नलाग्ने मात्रै यहाँ रहेको भन्दै उहाँले व्यंग्य गर्नुभएको हो ।

औँलाले उपस्थित मन्त्री गन्दै रोष्टम उक्लिनुभएको साँवाले व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो,‘आजको विषयवस्तुमा आफ्नो धारणा राख्न चाहान्छु तर अल्छी लागिराखेको छ। बेकामे, काम नभएका माननीयहरु बसेका रहेछौं। अलिक काम भएका टाठाबाठा टाप कस्नु भएको रहेछ ।’ साँवाले थप्नुभयो,‘ड्याम्मै भरिभराउ माननीय भइदिनुभएको भए जोश पनि लाग्थ्यो होला। अलिक कम भइसकेका छौँ ।’

बोल्ने क्रममा उहाँले बजेटलाई सुन्तलाको बोटसँग तुलना गर्नुभयो । ‘ठूलो सुन्तलाको बोटमा सानो सुन्तला लटरम्म देखिन्छ। टिपेर खाउँ न भन्यो भने हातभरीको भन्ने छैन। सानो सुन्तलाको टेस्ट छैन’, साँवाले भन्नुभयो, ‘योजना थुप्रा बजेट साना।’ त्यसपछि उहाँ प्रदेशको संस्कृति जोगाउन सांस्कृतिक मेलाको लबिङ गर्न थाल्नुभयो । ‘जिउँदो संस्कृति छ हामीसँग छ। नाचगान, भेषभूषा खाना छ’, साँवाले भन्नुभयो, ‘लिम्बुको च्याब्रुङ नाच छ। राई जातिको पनि छ ।’

लगत्तै उहाँले भाका हाल्न थाल्नुभयो । ‘डुङ्कु डङ्कु डुङ.. डुङकु डङ्कु डुङ..’, साँवाले गीत गाउँदै व्यङ्ग्य गर्दै भन्नुभयो,‘सोइ ढोले सोइऽऽ मुख्यमन्त्री खोइ। सोइ ढोले सोइ अर्थमन्त्री खोइ। सोइ ढोले सोइ अरू मन्त्री खोइ ।’ उहाँले प्रदेशस्तरीय सांस्कृतिक मेला गर्न सके संस्कृति ज्यूँदो हुने बताउनुभयो ।