जनता टाइम्स

१४ असार २०७९, मंगलवार २३:००

बझाङमा बलात्कार आरोपमा शिक्षक पक्राउ


बझाङ , १४ असार । युवतीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिकाको सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेका प्रहरीले जनाएको छ ।

असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी १८ वर्षीया युवतीलाई गुर्धामीले बलात्कार गरेको आरोप लागेको छ ।

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुङ्गानाले बताउनुभयो ।

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ढुङ्गानाले जानकारी दिनुभयो ।