जनता टाइम्स

१५ असार २०७९, बुधबार १२:३९

बामदेवको पार्टी गठनमा पत्नी र छोरालाई सांसद बनाउने अन्तिम लक्ष्य, यस्तो छ तथ्य


काठमाडौं, असार १५ । पारिवारिक मोह र पदीय आशक्तिले मानिसलाई कतिसम्म तल पुर्याउँछ भन्ने तथ्यलाई पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले फेरि एक पटक पुष्टि गरिदिनु भएको छ ।

पदकै लागि प्रथम तात्कालिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लागेर दुई तिहाईको पार्टी फुटाउने अभियानकर्ता गौतमले ७४ बर्षमा नेकपा एकता राष्ट्रिय अभियान’ नामक पार्टी दर्ता गर्नुभएको छ । गौतमले मंगलवार यो घोषणा गर्दै केन्द्रीय समितिमा पत्नी तुलसा थापा र छोरा हरिशलाई राखेपछि उहाँले आफू अध्यक्ष हुने हुटहुटी र छोरा र पत्नीलाई सांसद बनाउनको लागि समानुपातिक मतको लोभले पार्टी दर्ता गर्ने निर्णयमा पुग्नुभएको तथ्य उजागर भएको छ ।

चुनाव हारेर राष्ट्रपतिबाट मनोनीत भई राष्ट्रियसभा सदस्य बन्नुभएका गौतमले एमालेबाट समानुपातिक सांसद रहनुभएकी कोटामा पत्नीसहित छोरालाई पनि सांसद बनाउनका लागि नयाँ पार्टी दर्ता गरेको उहाँ निकटकै नेताहरुले बताएका छन । नेकपा बिभाजनपछि बिधानत केन्द्रीय कमिटीमा बस्न अयोग्य बनेपछि एमालेबाट गत भदौमा अलग हुनुभएका गौतमले यही योजनाका साथ नयाँ पार्टी गठन गरेर चुनौतीपूर्ण यात्रा सुरु गर्नुभएको हो । वामपन्थी शक्तिहरूलाई ध्रुवीकरण गर्ने उद्देश्यसहित ७४ वर्षीय गौतमले पत्नी र छोरालाई राखेर मंगलबार आफ्नै नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा गर्नुभएको हो ।

एमालेमा ७० वर्षे उमेर हद हटाउन अन्तिमसम्म लबिङ गर्नुभएका गौतमले त्यो प्रयाश असंभव भएपछि पार्टी छाडनु भएको थियो । सोही कारण सक्रिय राजनीतिबाट टाढिन नचाहनु भएका गौतमले आफ्नो संयोजकत्वमा नयाँ दल गठन गर्नुभएको हो । तीन पटक उपप्रधानसहित गृहमन्त्री र तीन पटक निर्वाचित सांसद गौतम अहिले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।

यतिबेला गौतमलाई साथ दिने जति सवै एमाले र नेकपा एकीकृत समाजवादीतिर छन । कुनै समय एमालेभित्र ‘किङमेकर’ रहेका गौतमले सानो समूह र परिवारका सदस्यलाई समेटेर पार्टी बनाउनु परेको छ । गौतमले ७५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा उहाँ नै गृहमन्त्री भएका बेला प्रहरीमा जागिर लगाइने आश्वासनमा घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रंगेहात पक्राउ गरेका डीबी कार्कीलाई सचिवको जिम्मेवारी दिनुभएको छ ।

कार्कीलाई विशेष अदालतले भ्रष्टाचार अभियोगमा ६ महिना जेल र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो । उहाँको पार्टीमा चर्चित कुनै नेता छैनन । सधै बिवादमा आइरहनु हुने गौतमले २०५४ सालमा महासचिव हटाउन नसकेपछि महाकाली सन्धिसम्बन्धी विवाद देखाएर पार्टी फुटाएर माले गठन गर्नुभएको थियो । ०५६ को संसदीय निर्वाचनमा सून्य सिट आएप्छि उहाँ फेरि एमालेमै फर्किनु भएको हो ।

०५८ मा एमालेमा फर्केपछि गौतम सानो तर सशक्त गुटको नेताका रूपमा रहनुभयो । उहाँलाई पूर्वमाले नेताहरूको समर्थन थियो । दोस्रो संविधानसभा चुनावलगत्तै भएको संसदीय दलको चुनावसम्म आउँदा केही प्रभावशाली युवा नेताले गौतमका साथ छाडेका थिए । आठौं महाधिवेशनमा खनाललाई अध्यक्षमा निर्वाचित गराउन पनि गौतमको भूमिका महत्त्वपूर्ण थियो ।

०७० सालमा संसदीय दल नेता जितेसँगै ओली राष्ट्रिय राजनीतिमा सशक्त हुँदै गएपछि गौतमको शक्ति खुम्चिँदै गयो । नवौं महाधिवेशनमा पनि ओलीलाई जिताउन गौतमको भूमिका थियो । अर्थात एमालेको नवौं राष्ट्रिय महाधिवेशन (०७१) सम्म गौतम जुन पक्षमा उभिनुहुन्थ्यो, पार्टी नेतृत्वमा उसैको पाल्ला भारी हुन्थ्यो । कोही नभएपछि उहाँले परिवारका लागि समानुपाति मतबाट सांस्दको जोहो गर्न पार्टी खोल्नुभएको देखिएको छ ।