जनता टाइम्स

१५ असार २०७९, बुधबार १२:३७

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा


बुटवल, १५ असार, । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ ।माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताउनुभयो ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उहाँ तत्कालीन नेकपाबाट विजयी हुनुभएको थियो ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोज्नुभएको थियो । त्यसपछि माओवादीले उहाँलाई राज्यमन्त्री बनाएको थियो ।