जनता टाइम्स

१५ असार २०७९, बुधबार १३:५७

यो अत्यन्त दुःखद स्थिति हो : केपी ओली


भक्तपुर, असार १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको अवस्थामा धान आयात गर्नुपर्ने कुरा अत्यन्त दुःखद रहेको बताउनु भएको छ । धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले आज भक्तपुरको सिरुटारमा आयोजित रोपाई महोत्सवमा संक्षिप्त सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस्तो बताउनु भएको हो ।

‘६० प्रतिशत जनता कृषिमा निर्भर भए पनि हाम्रो अवस्था भनेको आयातमा भर पर्नुपर्छ । यो अत्यन्त दुःखद स्थिति हो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले यस्तो स्थिति आउनुको कारण पनि खोल्नुभयो ।


‘यो स्थिति हाम्रा लापर्वाही, असावधान र प्रयाश नगरेको कारण भयो । अव उत्पादन बृद्धिको बाटोबाट, जमिन खेर जान नदिने माध्यमबाट, कृषिको आधुनिकीकरण गर्नै, ब्यवसायीकरण गर्ने बाटोबाट अन्त्य गर्नुपर्छ,’ ओलीले भन्नुभयो ।

उहाँले सही योजनाका साथ काम गरे धान उत्पादनमा नेपालले फडको मार्ने बताउनु भयो । ‘थोरै मेहनत र लापर्वाही सुधार गर्दा पनि धेरै ठूलो मात्रामा बृद्धि पनि गर्न सक्छौं उत्पादनमा । नेपाल कृषि प्रधान देश हो र नेपालको मुख्य खाद्यन्न बाली भनेको धान हो । धानका लागि नेपालको जमिन उत्तम छ । हामीसँग समथल तराई र उर्वर माटो छ, त्यसै गरेर यहाँको हावापानी उत्तम छ धानको लागि,’ ओलीले भन्नुभयो ।