जनता टाइम्स

१५ असार २०७९, बुधबार १७:१६

माधवसँग बोल्नै छाडे फिर्ता बोलाइएका चार मन्त्री


काठमाडौं, असार १५ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका चार मन्त्री अध्यक्ष माधव नेपालसँग बोलचाल नै बन्द गरेका छन ।

पार्टीले फिर्ता बोलाएपछि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शरणमा परेर २२ दिन थप कमाउ धन्दा चलाएका चारै मन्त्री माधवप्रति आक्रोशित बनेर बोल्न छाडेका हुन । नेकपा एसले उपाध्यक्षसमेत रहनुभएका स्वास्थ्यमन्त्री बिरोध खतिवडा, सचिवसमेत रहनुभएकी सहरी बिकाशमन्त्री रामकुमारी झाँक्रीसहित किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बालाएर नयाँ मन्त्री नियुक्त गराइसकेको छ ।

आफूहरुलाई देउवा सरकार रहँदासम्म मन्त्री दिने प्रतिवद्धता जनाएको तर अहिले अध्यक्ष नेपालले धोका दिएको भन्दै रिसाएका पूर्वमन्त्रीहरु उहाँसँग बोल्न छाडेका हुन । अध्यक्ष नेपाल स्वयंले सरकारबाट फिर्ता भएका मन्त्रीहरू आफूसँग बोल्न छाडेको खुलासा गर्नुभएको छ । ‘मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी भएनन, मसहितका बोलचालसमेत गर्न छाडे,’ नेकपा एस सुदुरपश्चिम सम्पर्क कमिटीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो ।

नवनियुक्त मन्त्रीलाई बधाई दिन आयोजित कार्यक्रममा आले पनि उपस्थित हुनुभएन । मन्त्री बनेकाहरुले ६ महिनाका लागि मात्रै पठाइएको तथ्य भुलेको पनि नेपालले आरोप लगाउनु भयो ।

‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन । अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ,’ नेपालको भनाई थियो ।