जनता टाइम्स

१७ असार २०७९, शुक्रबार ०५:३८

बाढीपहिरोका कारण सडकमा आउने अवरोध हटाउन देशभर २१८ थान उपकरण परिचालन


काठमाडौं,१७ असार । वर्षायाममा बाढीपहिरोका कारण राजमार्ग र सडकमा आउने अवरोध हटाउन सडक विभागले देशभर २१८ थान उपकरण परिचालन गरेको जानकारी दिएको छ ।

विभागका अनुसार हाल ९३ उपकरण विभिन्न साइटमा परिचालन गरिएको छ । बाँकी उपकरण तयारी अवस्थामा छन् । पहिरो पन्छाउन लोडर, एस्काभेटर, ब्याकहो लोडर, डोजर जस्ता १४३ उपकरण तयारी हालतमा राखिएको छ ।

७५ ओटा सहायक उपकरण छन् । सडकमा आउने अवरोध पन्छाउन विभागअन्तर्गतका सडक डिभिजन तथा योजना कार्यालयहरूले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरू मातहतका हेभी इक्विपमेन्ट डिभिजनहरूसँग रहेका उपकरण परिचालन गर्दै आएका छन् ।

पहिरोको जोखिमयुक्त क्षेत्रमा ती उपकरण परिचालन गर्नुका साथै अन्य उपकरण विभागका विभिन्न कार्यालयमा तयारी अवस्थामा राखिएको बताइएको छ ।