काठमाडौं, असार १७ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अलग अलग बाटो हिडनेसहमतिमा पुग्नुभएको छ । पछिल्लो समय अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएपछि दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्याएको हो ।
मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट हुनुहुन्थ्यो पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गर्नुभएको छ । उहाँले यादवको एकल निर्णय भएको र त्यसलाई नमान्न आग्रह गर्नुभएको थियो । त्यसो गरे आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने उहाँले देउवालाई चेतावनीसमेत दिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले पार्टीभित्रको विवाद मिलाएर मात्र मन्त्री हेरफेर गर्ने आश्वासन भट्टराईलाई दिनुभयो। गत मंगलबार यादवसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्री फेरबदलका लागि पार्टीभित्र सहमति गरेर आउन सुझाउनु भएको थियो । तर, पार्टीभित्र त्यो विषयमा सहमति नभएको जसपाका नेताहरू बताउँछन्। यो विषयले नै दुई नेतालाई आ–आफ्नै बाटो लाग्नेसम्मको अवस्थामा पुर्याएको छ । मन्त्री फेरबदलकै विषयलाई लिएर चर्को विवाद भएपछि बुधबार राति भट्टराई र यादवबीच वार्ता भएको थियो। वार्तामा अलग हुने सहमति भएको अध्यक्ष यादव बताउनु हुन्छ।
‘संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकताबाट हामी एउटै पार्टी भएका थियौं। तर, दुई पार्टीको केमेस्ट्री मिलेन। त्यसैले हामीबीच अलग भएर अघि बढ्ने निर्णय भयो,’ यादवले भन्नुभयो । भट्टराईले पनि अबसँगै बस्ने अवस्था नभएको र आफूहरू मन्त्रीको कोटाका लागि सहमति नजनाउने स्पष्ट पार्नुभएको छ ।
बाबुरामको पक्षमा हस्ताक्षर गरेका सांसदहरू समेतको बैठकमा उपेन्द्रले मन्त्री हेरफेरको लागि आफूलाई धेरै दबाब नदिन सांसदहरूलाई आग्रह गर्नुभएको थियो । तर, बैठकमै सांसद प्रदीप यादव, मृगेन्द्र यादवसहितका सांसदहरूले तत्काल मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँको नाम बालुवाटार पठाउन दबाब दिनुभएको थियो । संसदीय दलको बैठकमा केहीबेर मन्त्री बन्ने आकांक्षी सांसदहरू र उपेन्द्र यादवबीच चर्काचर्कीसमेत भएको स्रोत बताउँछ।
आक्रोशित यादवले तत्काल मन्त्रीहरू फेरबदल हुँदैन। पार्टी छोडेर जाने इच्छा भए निर्णय लिन स्वतन्त्र हुनुहुन्छ भनेको स्रोतले बतायो। गत सोमबार यादवले आफू पक्षधर केन्द्रीय कार्यकारिणीका सदस्यहरूलाई बोलाएर सरकारमा रहेका चारवटै मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ अनुहारलाई पठाउने निर्णय गर्नुभएको थियो । मन्त्रीको नाम पठाउने र पार्टीविरोधी गतिविधिमा संलग्न बाबुरामसहितका केही नेताहरूलाई कारबाही गर्ने अधिकार उपेन्द्रले लिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्