जनता टाइम्स

१७ असार २०७९, शुक्रबार ०८:१३

सावधान ! केयूकेएल र ट्याङ्करको पानीमा पनि भेटियो हैजाको जीवाणु


काठमाडौ, असार १७ । काठमाण्डौ उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ ।

स्वास्थ्य कार्यालय काठमाण्डौले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गरेको थियो । परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको हो । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ ।

नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ । विशेषगरी जारको पानीलाई लक्षित गरी अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।स्वास्थ्य विज्ञले यस अघि नै काठमाण्डौमा भित्रभित्रै हैजा फैलिएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।

काठमाण्डौमा गएको २ गते पहिलो पटक बागबजारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म उपत्यकामा १४ जनालाई हैजा पुष्टि भइसकेको छ ।

बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने विज्ञले चेतावनी दिएका छन् ।उपत्यकामा हैजा फैलने जोखिम उच्च रहेकाले यसको रोकथामका लागि पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा स्वथ्य खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ ।