जनता टाइम्स

१८ असार २०७९, शनिबार १७:२०

स्थानीय तहको निर्वाचनमा सत्ता र पैसाको चरम दुरुयोग भयो : महासचिव पोखरेल


काठमाडौँ, असार १८ । नेकपा (एमाले)का महासचिव संकर पोखरेलले स्थानीय तहको निर्वाचनमा सत्ता र पैसाको चरम दुरुयोग भएको बताउनु भएको छ ।

‘समृद्धिका लागि बुद्धिजीवी’ भन्ने मूल नाराका साथ नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको केन्द्रीय कार्यसमितिको दास्रो पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

‘त्यसले केही न केही नेकपा (एमाले)को जनमतलाई प्रभावित पारेको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनपछि पनि सत्ता गठबन्धनलाई नै निरन्तरता दिने उदेश्यले स्थानीय तह निर्वाचनमा सत्ताको गठबन्धन भयो र सत्ता र पैसाको दुपयोग भयो ।’

उहाँले स्थानीय तहको निर्वाचनमा जस्तो आम चुनावमा सत्ताको दुरुपयोग कम हुने र एमालेको जनमत सकारात्मक बन्ने पनि अपेक्षा गर्नुभयो । ‘किन भने सत्ता नै निर्वाचनमा हुन्छ र निर्वाचनपछि के हुने भन्ने भएकाले स्थानीय चुनावमा जसरी प्रहरी प्रशासन राष्ट्रिय चुनावमा सत्ताले प्रयोग गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘आम चुनावमा प्रशासनलाई तटस्थ राख्ने आधार बलियो हुन्छ । यो आधारमा पनि हामीले हाम्रो शक्तिलाई बलियो बनाउन सक्छौँ ।’

उहाँले पार्टीलाई राष्ट्रको नेतृत्व गर्ने स्थानमा लैजान नेपाल बुद्धिजीवी परिषद्को महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले उत्पादक शक्तिको तिव्र विकासबाट मात्रै ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको नारालाई पूर्णता दिन सकिने बताउनुभयो ।