जनता टाइम्स

१९ असार २०७९, आईतवार ०८:२६

मोडेल स्कुलको होस्टेलको क्यान्टिनमा काम गर्ने युवती मृत फेला


काठमाडौं, असार १९ । बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल)को होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार रायमाझी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्। काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी उरायमाझीको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटिएकी हुन्। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शनिबार राती नै केएमसी पुगेको थियो। घटनाको अनुसन्धान भैरहेको छ, मैनालीले भन्नुभयो ।

रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत हुनुहुन्थ्यो। शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गरेका थिए। घटना भैसकेपछि विद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ ।

पारिवारका अनुसार उहाँ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्नुहुन्थ्यो। मृतककी ३ दिदी बहिनी र १ जना दाजु छन्। उहाँ जेठी छोरी हुनुहुन्थ्यो । आमाबुबा भने गाउँमै खेती गर्दै आउनु भएको छ ।