जनता टाइम्स

१९ असार २०७९, आईतवार ०८:३६

‘हेर्दाहेर्दै’ मा रहेको आईजीपी मुद्दाको अन्तिम सुनुवाइ आज, के आउला फैसला ?


काठमाडौं, असार १९ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा सम्बन्धी विवादको हेर्दाहेर्दैमा रहेको अन्तिम सुनुवाइ आइतबार हुँदैछ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज अन्तिम सुनुवार्ई हुन लागेको हो ।

सो इजलाशमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो। त्यसपछि ६ दिन सारिएको हो।

आफुभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी एआइजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो । बैशाख २२ गते न्यायधिश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गर्नुभएको थियो ।

जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ तीनपटक हेर्दाहेर्दैमा बसिसकेको छ। यसबीचमा असार ५ र असार १३ गते पनि सुनुवाइ भएको हो। सोमुद्धामा निवेदक पोखरेलका कानुन व्यवसायीको बहस सकिएको छ।