जनता टाइम्स

१९ असार २०७९, आईतवार ०९:४८

इश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाको उम्मेदवारी


काठमाडौं, असार १९ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

२०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गर्नुभएकी दर्शनाले पोखरेलको काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रवार राती गरेको घोषणामा भन्नुभएको छ, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।’

२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जित्नुभएको थियो । सो निर्वाचन क्षेत्रमा पोखरेल लगातार निर्वाचन लडदै आउनु भएको छ । दर्शनाले विवेकशील पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लड्ने तयारी गर्नुभएको हो ।