जनता टाइम्स

१९ असार २०७९, आईतवार १३:४६

बामदेवको काउन्टर : आफूलाई निकाल्ने सवैलाई गरे पार्टीबाट निष्काशन


काठमाडौं, असार १९ । राष्ट्रिय एकता अभियानबाट संयोजक वामदेव गौतमलाई नै निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई गौतमले जवाफी कारबाही गर्नुभएको छ ।

गौतमले सचिवालय सदस्य युवराज सफलसहित पाँचैजनालाई निष्कासन गर्ने निर्णय लिनुभएको हो । पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले अनुशासनविपरीतका क्रियाकलाप गरेकाले उनीहरूमाथि कारबाहीको निर्णय भएको बताउनु भयो । पार्टीका ९ जना सचिवालयमध्ये ७ जना बैठकमा सहभागी भएको पाण्डेको दावी छ ।

पाण्डेका अनुसार युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्काउने गरी निष्कासन गरिएको छ भने अन्य ४ जनालाई आत्मालोचना गरेमा पार्टीमा फर्कन सकिने विकल्प दिइएको छ । शनिवार वामदेवलाई कारबाहीको विज्ञप्ति जारी गर्नेहरूले आफूहरूसँग पार्टीको बहुमत रहेको दाबी गरेका थिए । तर, उनीहरूको दाबी हास्यास्पद रहेको पाण्डेले गौतम पक्षको जिकिर छ ।

‘९ जना सचिवालय सदस्यमध्ये ८ जना वामदेव कामरेडसँगै छौं । ६९ जना केन्द्रीय सदस्यमध्ये उहाँहरूसँग ७–८ जना हुनुहुन्थ्यो । हिजो हस्ताक्षर गरेका बाहेक अरुले पार्टीमै रहन्छौं भनिरहनुभएको छ,’ पाण्डेको भनाई छ । पाण्डेका अनुसार राष्ट्रिय एकता अभियानले आयोजना गरेको भेलामा युवराजसहितका केही व्यक्तिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो ।