जनता टाइम्स

२० असार २०७९, सोमबार १७:३३

एमालेले थप्यो सदस्यता नविकरणको समय, सातै प्रदेशमा गर्ने कार्यशाला मिति पनि तोकियो


काठमाडौं, असार २० । नेकपा (एमाले) ले संगठित सदस्यता नविकरणको समय थप गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको केन्द्रीय संगठन विभागको सातौं बैठकले सदस्यता नविकरणको समय थप गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको आधिकारिक वेभसाइड सीपिएन युएमएल डट ओआरर्जीले जनाएअनुसार बैठकले समग्र कामको मूल्यांकन गर्दै सदस्यता नविकरणको समय साउन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी सदस्यता नवीकरण, संगठनसम्बन्धी कार्यशाला, अनुगमन र मूल्याङ्कन तथा बार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।

महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख खगराज अधिकारीको अध्यक्षतामा भएको बैठकमा विभाग सदस्यहरुले छैटौं बैठकयताका कामको संक्षिप्त रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो । बैठकले संगठनसम्बन्धी कार्यशालाका सम्बन्धमा बाग्मती प्रदेशमा सम्पन्न भइसकेको र अन्य प्रदेशको हकमा असार, साउन र भदौ महिनामा सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।

जसअनुसार, प्रदेश १ मा यसै असार महिनाको २९ र ३० गते, गण्डकी प्रदेशमा साउन १ र २ गते, लुम्बिनी प्रदेशमा साउन १३ र १४ गते, सुदूरपश्चिममा साउन ३ र ४ गते र कर्णाली प्रदेशमा भदौ पहिलो साता सम्पन्न गर्ने निर्णय गरेको छ । मधेश प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीको समयतालिका पनि छिटै तय सो बिभागले जनाएको छ ।

बैठकमा महासचिव पोखरेलले सांगठनिक काम व्यवस्थित गर्ने, जनताका सरोकारका विषय र सामाजिक मुद्दाहरूमा पार्टी कमिटीबाटै आवाज उठाउनुपर्ने, जनसंगठनहरूको अधिवेशन निश्चित समयभित्र सम्पन्न गर्ने, सबै तहका कमिटीहरूमा सचिवालय गठन गर्ने लगायत विषयमा निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो । बैठकमा संगठन विभाग सचिवमा मनोनयन हुनुभएका सम्झना देवकोटालाई बधाई ज्ञापन गरिएको थियो ।