जनता टाइम्स

२१ असार २०७९, मंगलवार १३:३१

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ


संखुवासभा, २१ असार । चौंतिस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् ।

उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । झारफुक गर्न जानुभएको उक्त महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट उहाँ घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।