जनता टाइम्स

२१ असार २०७९, मंगलवार १४:५८

अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो छ : शंकर पोखरेल


कैलाली, २१ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको बताउनुभयो । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘यसमा ‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छानबिन गरी कारबाही गर्नुपर्छ । कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन् ।’

उहाँले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गर्नुभयो । नेकपा एस र माओवादीलाई लक्षित गर्दै उहाँले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गर्नुभयो । गठबन्धन सरकार पूर्णरूपमा असफल भएको पोखरेलको भनाइ छ । ‘एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको छ । अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ’ उहाँले थप्नुभयो ।

स्थानीय तहको निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको उहाँले बताउनुभयो । आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने पोखरेलको विश्वास छ । ‘सरकार असफल छ त्यसको विरुद्धमा हामी चुनावमा जान्छौं । नेकपा एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्छौं । आउने निर्वाचनमा बहुमत ल्याउँछौं’, उहाँले भन्नुभयो । स्थानीय आवश्यकताको आधारमा तालमेल हुनसक्ने भन्दै उहाँले नीतिगत नेतृत्व छोडेर भने तालमेल हुन नसक्ने बताउनुभयो ।