जनता टाइम्स

२२ असार २०७९, बुधबार १०:४३

युक्रेनी शरणार्थीलाई शरण दिएको १० दिनमा नै प्रेम, १० बर्ष पुरानो विवाह बन्धन भने टुट्यो


काठमाडौं, २२ असार । एक युवतीका कारण १० वर्ष पुरानो विवाह समाप्त भएको छ ।युक्रेनी शरणार्थीलाई आफ्नो घरमा स्थान दिएको १० दिनमै बेलायती युवाले उनलाई पनि आफ्नो मन पनि दिएका छन् ।युक्रेनी शरणार्थीको प्रेममा परेर उनले आफ्नो १० वर्ष पुरानो सम्बन्ध अन्त्य गरेका हुन् ।

उनले आफ्नी श्रीमती र दुई सन्तानबाट अलग हुने निर्णय गरेका छन् । बेलायती युवा अब युक्रेनी शरणार्थीसँग आफ्नो जीवन बिताउन चाहन्छन् ।सेक्युरिटी गार्डको रूपमा काम गर्ने २९ वर्षीय टोनी गार्नेट आफ्नी श्रीमती र दुई छोराछोरीसँग लन्डनमा बस्थे । हालै रुस–युक्रेनबीच युद्ध सुरु भएपछि उनले युक्रेनकी २२ वर्षीया सोफियालाई आफ्नो घरमा आश्रय दिए ।सोफिया शरणार्थीको रुपमा बेलायत आएकी थिइन् । जहाँ गार्नेट परिवारले उनलाई सहयोग गर्यो ।तर १० दिनभित्रै टोनी सोफियासँग प्रेममा परे । सोफियाले टोनीलाई पनि मन पराउँथिन् । त्यसपछि दुवैजना बाँकी जीवन साथमा बिताउने निर्णयमा पुगेका हुन् ।द सनको समाचार अनुसार सोफियालाई टोनी पहिलो नजरमा नै मन परेको थियो । टोनीलाई देख्नेबित्तिकै उनी उनको फ्यान भइन् ।

उनले भनिन्, ‘हाम्रो प्रेम कथा छोटो छ तर हाम्रो सम्बन्ध निकै बलियो छ । मानिसहरूले मेरो बारेमा नराम्रो सोच्नेछन्, तर टोनी पुरानो सम्बन्धमा धेरै दुखी थिए ।’टोनीले युक्रेन निवासी सोफियासँग फेसबुकमा सम्पर्क गरेका थिए। सोफिया त्यहाँ आईटी विशेषज्ञको रूपमा काम गर्थिन् । युद्ध सुरु भएपछि, उनको शहर लीभ तहसनहस भयो ।यस्तो अवस्थामा टोनीले सोफियालाई बेलायत आउन प्रस्ताव गरे । सोफियाले पनि सहमति जनाइन् । त्यसपछि उनी बेलायत आएर टोनी र उनको परिवारसँग बस्न थालेकी हुन् ।