धनगढी, असार २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनले एमाले मुलुकको ठूलो शक्ति भएको पुष्टि गरेको तथ्य राख्नुभएको छ ।
एमालेलाई सिध्याउने उद्देश्यले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पाँच दलले गठबन्धन बनाएर अनेक हतकण्डा अपनाए पनि जनताले असफल पारिदिएको महासचिव पोखरेलले बताउनु भयो ।
नेकपा एमालेले धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘प्राविधिक रुपमा हामीले अघिल्लो चुनावको भन्दा कम पालिकामा जितेका छौं तर जनताले हामीलाई सबभन्दा बढी ३४ प्रतिशत मत दिएर एमाले नै ठूलो पार्टी हो भन्ने कुरा पुष्टि गरिदिएका छन् ।’
पोखरेलले कुल मतलाई आधार मान्दा ३३ प्रतिशत मात्रै मत ल्याएकाले कांग्रेस अहिले पनि दोस्रो शक्ति भएको बताउनु भयो । स्थानीय तहको चुनावले एमाले ठूलो शक्ति मात्र नभई देशबाट कसैले पनि परास्त गर्न नसक्ने तथ्य समेत पुष्टि भएको उहाँको भनाई थियो ।

महासचिव पोखरेलले एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले विगतमा वामदेव गौतमले पार्टी विभाजनका बेला आम चुनावमा ल्याएको मत भन्दा पनि कम ल्याउनु लज्जास्पद भएको पनि बताउनु भयो । वामदेव गौतमले तत्कालीन समयमा देशभरबाट ७ प्रतिशत मत प्राप्त गरेको स्मरण गर्दै पोखरेलले भन्नुभयो, ‘माधवको पार्टीले त चार प्रतिशत मत मात्रै ल्यायो ।’
मुुलुकलाई जातीय राज्यमा विभाजन गरेर क्षतविक्षत पार्ने षड्यन्त्रलाई नेकपा एमालेले नै परास्त गरेको भन्दै उहाँले संविधान निर्माणका बेला त्यसको नेतृत्व अध्यक्ष केपी ओलीले गरेको बताउनु भयो । तीनै शक्तिहरु अहिले पनि एमालेलाई सिध्याउन लागेको भन्दै पोखरेलले अब त्यो सम्भव नरहेको ठोकुवा गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्