जनता टाइम्स

२३ असार २०७९, बिहीबार १०:५७

नेपाली क्रिकेट टीमका कप्तान सन्दीप दुई विदेशी फ्रेञ्चाइज लिगमा आबद्ध


काठमाडौं, असार २३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमयर लिग (सिपिएल) जमैका तलावाजबाट खेल्ने हुनुभएको छ ।

सन्दीपलाई वेस्ट इन्डिजको टी(२० फ्रेञ्चाइज लिग टिम जमैकाले विदेशी खेलाडीको कोटामा बुधबार आबद्ध गरेको हो। जमैकाले सन्दीपसँगै पाकिस्तानका इमाद वासिम र मोहमद अमिर, दक्षिण अफ्रिकाका प्रेटोरियस र अस्ट्रेलियाका क्रिस ग्रिनलाई टिममा भित्र्याएको छ।

२०२२ को सिपिएल आगामी अगस्ट ३१ देखि सुरू हुँदैछ। सन्दीप दोस्रो पटक जमैकामा आबद्ध हुनुभएको हो । यसअघि उहाँले २०२० को सिजनमा पनि जमैकाबाट खेल्नुभएको थियो । त्यतिबेला सन्दिपले १२ विकेट लिनुभएको थियो । सो सिजनमा सन्दीपले ९० हजार अमेरिकी डलर पारिश्रमिक लिनुभएको थियो ।

गत सिजन भने सन्दीपले राष्ट्रिय टिमको खेलका कारण सिपिएल गुमाउनु भयो। नेपाल ओमान भ्रमणका गएसँगै सन्दीपले ट्रिन्बागो नाइट राइडर्समा आबद्ध भएर पनि खेल्नुभएन ।

सिजन २०२२ को सिपिएलमा आबद्ध भएको अघिल्लो दिन मंगलबार सन्दीपले श्रीलंकाको टी–२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने पक्का भएको थियो।

मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आबद्ध गरेको थियो। अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आबद्ध गरेको थियो। २०२२ को एलिपएल आगामी जुलाइ ३१ देखि सुरू हुनेछ। प्रतियोगितामा पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।