जनता टाइम्स

२३ असार २०७९, बिहीबार १२:२६

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर


काठमाडौँ, २३ असार । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार जारी पुनः मतदानसमेत तनावग्रस्त बनेको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

‘केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले भन्नुभयो , ‘करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदानको अवस्था बनेको छ ।’यो नेकपा एमालेका नेता कर्णबहादुर थापाको मतदान केन्द्र हो । ३० वैशाखमा स्थगित भएको चुनाव बिहीबार विहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ । यहाँ मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।