जनता टाइम्स

२३ असार २०७९, बिहीबार १३:५१

विश्वभर १५ करोड मानिस भोकमरीको चपेटामा


न्युयोर्क, २३ असार । कोभिड–१९ को महामारी र युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर भोकमरीबाट पीडित व्यक्तिको संख्या १५ करोडले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

युक्रेन संकटले आगामी महिनामा झन् नराम्रो बनाउन सक्ने र यसले विश्वभरका सबैभन्दा बढी प्रभावित देशहरूलाई अनिकालतर्फ धकेल्न सक्ने चेतावनी पनि राष्ट्रसंघले दिएको छ । प्रतिवेदनअनुसार विश्वभर करिब ८२ करोड ८० लाख मानिस कुनै न कुनै प्रकारको कुपोषणबाट ग्रस्त छन् ।

यो गत वर्षको तुलनामा ४ करोड ६० लाखले बढी र महामारीअघिको संख्याको तीन गुणा हो । ‘आगामी महिनाहरूमा यो संख्या अझ बढ्ने वास्तविक खतरा छ’ संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक डेभिड बिस्लेले भन्नुभयो ।

‘युक्रेनको संकटको परिणामस्वरूप खाद्यान्न, इन्धन र मलको विश्वव्यापी मूल्य वृद्धिले विश्वभरका देशहरूलाई अनिकालमा धकेल्ने खतरा छ । यसको नतिजा विश्वव्यापी अस्थिरता, भोकमरी र अस्वभाविक सामूहिक बसाइँसराइ हुनेछ । यो प्रकोप रोक्नको लागि हामीले आज काम गर्नुपर्छ’ उहाँले अगाडि भन्नुभयो ।