जनता टाइम्स

२३ असार २०७९, बिहीबार १८:११

सिन्दुरसँग नागरिकता साट्ने कुरा किमार्थ स्वीकार्य छैन : नवराज सिलवाल


काठमाडौं, असार २३ । नेकपा एमालेका सांसद् नवराज सिलवालले नागरिकता सम्बन्धी विधेयक फिर्ता नलिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद् सिलवालले राज्य व्यवस्था समितिमा व्यापक छलफल भइसकेको विधेयक फिर्ता नलिन आग्रह गर्नुभयो ।

विदेशीको इच्छाअनुसार नागरिकता विधेयक ल्याउन नहुने बताउँदै उहाँले भन्नुभयो, ‘राज्य व्यवस्था समितिले व्यापक छलफल गरिकन संसदमा पेस गरेको नागरिकता विधेयक सरकारले फिर्ता लिँदैछ भन्ने कुरा आइरहेको छ, बोनाफाट नागरिकले नागरिकता पाउनुपर्छ तर विदेशीको इन्ट्रेष्ट पूरा गर्नेगरी राष्ट्रियतामाथि आँच आउने ढंगले चाहिँ नयाँ खालको व्यवस्था गरेर नागरिकता विधेयक ल्याउने कुरा मान्य हुँदैन ।’

सिन्दुरसँग नागरिकता साट्ने प्रावधान नराख्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘नेपाल दुवैतिर अरब(अरब जनसंख्या भएको देशको बीचमा रहेको मुलुक हो, नागरिकता दिने सबालमा हामी उद्धार हुन सक्दैनौं, सिन्दुरसँग नागरिकता साट्ने प्रावधानलाई लिएर जान सकिँदैन, राष्ट्रियतामाथि ठूलो आँच आउने काम भएकाले त्यो ढंगले अगाडि नजान म सरकारलाई आग्रह गर्छु,’ सिलवालले भन्नुभयो ।