जनता टाइम्स

२३ असार २०७९, बिहीबार १८:५३

नेपालमा बसेर अमेरिकामा ठगी गर्ने गिरोहको पोल खुल्यो, प्रहरीले माग्यो पीडित खोज्न इन्टरपोलसँग सहयोग


काठमाडौं, असार २३ । नेपाल प्रहरीले ठगीको अनुसन्धानमा पीडित खोज्नका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ । नेपालमा कल सेन्टर खोलेर अमेरिकी नागरिकलाई ठगी गर्ने गिरोहको अनुसन्धानका लागि साइबर ब्यूरोले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहयोग मागेको हो ।

इन्टरपोलसँग यो पटक मागेको सहयोग भने आरोपीलाई खोज्न नभइ पीडितलाई खोज्नका लागि हो । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंलाई ब्यूरोले पत्राचार गरेर अमेरिकी प्रहरीको सहयोग मागेको हो ।

ब्यूरोका पत्राचारका आधारमा एनसीबी काठमाडौंले एनसीबी वासिङ्टनलाई अनुसन्धानका लागि सहयोग गरिदिन आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि इन्टरपोलका सदस्य राष्ट्रहरुले एकअर्कालाई सहयोग गर्छन । अपराध अनुसन्धान, अपराधीको खोजी र सूचनाको आदनप्रदानका लागि पनि इन्टरपोलले सहयोग गर्छ ।

ब्यूरोका अनुसार अहिले अनुसन्धान गरिरहेको घटना फरक प्रकृतिको छ, पीडितहरु सबै अमेरिकामा छन । ब्यूरोले असार पहिलो साता अपरेशन चलाएर कल सेन्टरको नाममा साइबर अपराध गरिरहेको गिरोहलाई पक्राउ गरको थियो । बूढानीलकण्ठ नगरपालिका–१२, कपनका विजय श्रेष्ठको नाममा दर्ता अर्बिट नेक्सस प्रा.लि. कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेका थिए ।

कम्पनीका लागि काम सिकाउन भन्दै काठमाडौं आएका भारतीय नागरिक ३२ वर्षीय निसान खैरे र २४ वर्षीय मनीष तिवारीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये तीन जनाबाहेक अन्य सबै कल सेन्टरमा काम गर्न राखिएका कर्मचारी थिए ।

उनीहरुले दिल्लीस्थित कार्यालयबाट प्राप्त अमेरिकी नम्बरका आधारमा फोन गरेर विभिन्न व्यक्तिहरुको कम्युटर बनाइदिने बहानामा बैंक विवरण लिएर रकम चोरी गर्ने गरेका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार नेपालबाट बैंक विवरण मात्र माग्ने गरिएको थियो । भारतमा रहेको समूहले रकम निकाल्ने गरेको थियो । त्यसवापत नेपालमा बस्ने गिरोहलाई तलब दिइने गरिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनीहरुको साथबाट बरामद कम्युटरमा ९० बढी अमेरिकी नागरिकको विवरण फेला परेको थियो । तीमध्ये कतिबाट पैसा निकालियो भन्ने खुल्न सकेको छैन ।

उनीहरुले पनि अनलाइनमार्फत जाहेरी दिए ठगी र अन्य कसूरमा पनि अनुसन्धानका लागि थप बाटो खुल्ने प्रहरीको विश्वास छ । यसरी विदेशी नागरिकले साइबर ब्यूरोमा जाहेरी दिए विदेशमा भएको साइबर अपराधको नेपालमा अनुसन्धान गरेर कारबाही गरिएको सम्भवतः पहिलो घटना हुनेछ । अमेरिकासँगै भारतमा पनि थप अनुसन्धानका लागि समन्वय हुने प्रहरीको भनाई छ ।