जनता टाइम्स

२३ असार २०७९, बिहीबार २०:३२

बिशेष प्रस्तावसहित नेपाल भ्रमणमा आउँदै चिनिया उच्च नेता


काठमाडौं, असार २३ । कम्युनिस्ट शक्तिहरुको एकताको प्रयास भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी नेपाल आउने भएका छन। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल आउन लाग्नुभएको हो ।

नेकपा एमालेका एक नेताले जियान्चाओको नेपाल भ्रमणबारे पुष्टि गरेका छन्। ुचिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणमा आउने कुरा जानकारी आएको बताउनु भयो । यद्यपि कुन मितिमा आउने भन्ने टुंगो लागिनसकेको स्रोतले बतायो।

नेपालस्थित चिनियाँ दूतावासले जियान्चाओको भ्रमणको संयोजन गरिरहेको स्रोतले बताएको छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोद भएपछि नेपालका कम्युनिस्ट घटकसँग चीन सशंकित हुँदै आएका छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एमसीसी परियोजना अनुमोदन गर्न असहयोग गर्छ भन्ने चिनियाँ बुझाइ थियो। तर चिनियाँ बुझाइ विपरित एमाले र माओवादी केन्द्रले एमसीसी अनुमोदनमा सहयोग गरेपछि नेपालका कम्युनिस्ट नेताहरुलाई हेर्ने चिनियाँ दृष्टिकोण केही बदलिएको छ।

पछिल्लो अमेरिकाको रक्षा कार्यक्रम स्टेट पाटर्नरसीप प्रोगाम कार्यान्वयनको विषयमा समेत चीनले चासो दिएको छ। एमसीसी र एसपीपी दुबै कार्यक्रम चीनविरोधी रहेको बेइजिङको बुझाइ छ। अमेरिकी उपमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा भ्रणण गरेको विषयबारे समेत चीन गम्भीर बनेको छ।

पछिल्लो पटक नेपालमा बढेको अमेरिकी गतिविधिलाई सन्तुलन गर्न र सम्भव भए कम्युनिस्ट शक्तिहरुलाई एक बनाउने उद्देश्यले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओ नेपाल आउन लागेको स्रोतले बताएको छ। यद्यपी चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयलले जियान्चाओको नेपाल भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ।

नेपाल बसाईका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ ।