जनता टाइम्स

२३ असार २०७९, बिहीबार २०:५२

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवको अवस्था नाजुक, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था


काठमाडौं, असार २३ । भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई उपचारका लागि बुधबार राति पटनाबाट दिल्ली लगिएको छ। दिल्लीमा यादवको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारको लागि लगिएको छ।

लालु यादवको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उहाँको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । लालुका छोरा तेजस्वी यादवको भनाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेको छ, ‘बुवाको पूर्ण चेकअप हुनेछ । त्यसपछि मात्र उपचार सुरु हुनेछ। अहिले बुवाको शरीरमा कुनै हलचल छैन ।’ भर्याङबाट लडेर लालु यादवको तीन ठाउँमा भाँचिएको तेजस्वीले बताए। त्यसपछि उनको अवस्था बिग्रिंदै गएको हो। लालुको शीघ्र स्वास्थ्य लाभको लागि पटनाका मन्दिर र मस्जिदहरूमा प्रार्थना गरिएको छ।

तेजस्वीले बुवालाई धेरै औषधि खुवाइएको बताउनु भयो। शरीरमा आएको जटिलता हटाउन खाइएका दबाइले मुटु वा मिर्गौलामा कुनै प्रभाव नै नपरेकोले दिल्लीको एम्समा ल्याएको उहाँको भनाई छ । तेजस्वीले बुबालाई सिंगापुर लैजान डाक्टरसँग कुरा गर्ने बताए। उनको कलेजोरमृगौला प्रत्यारोपणको लागि कुरा भइरहेको छ। उहाँले भन्नुभयो, ‘पहिला क्रिएटिनिन लगभग ४ थियो, जुन बढेर ६ भएको छ। बुवालाई छाती दुखेको र बिगत दुई(तीन दिनदेखि ज्वरो आएको थियो।’

लालु यादव पटनास्थित आफ्नो निवासको सिँढीबाट लडेपछि बिरामी पर्नुभएको हो । उहाँलाई पटनाको पारस अस्पतालमा भर्ना गरियो। तर स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार एयर एम्बुलेन्सबाट दिल्लीको एम्स अस्पतालमा लगियो। ७५ वर्षीय लालु यादव एकैपटक धेरै रोगसँग लडिरहनु भएको छ ।

यादवको यही महिना सिंगापुरमा मिर्गौला प्रत्यारोपण हुने तय भएको थियो । लालु यादव मधुमेह र उच्च रक्तचापबाट पनि पीडित हुनुहुन्छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले बुधबार पारस अस्पतालमा लालु यादवलाई भेटनु भएको छ । उहाँले लालु यादवको उपचार सरकारी खर्चमा हुने जानकारी पनि दिनुभएको छ ।