जनता टाइम्स

२५ असार २०७९, शनिबार ०९:४५

बुढीगंगामा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्त हार्दैछन् – कर्ण थापा


काठमाडौं, २५ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला यो चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गर्नूभएको छ । सोही नगरपालिकाका बासिन्दासमेत रहेका एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप लगाउनुभएको छ ।

वैशाख ३० गते भएको मतदान रद्द गरी पुनः निर्वाचन गराउन महान्यायाधिवक्ता खम्म खातीले राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन आयोगको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेर उहाँमाथि कारबाहीको सिफारिस गरेको थियो ।

तर, आयोगका प्रमुख आयुक्तसहितको बहुमतले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो । त्यसविरुद्ध एमालेका वडाध्यक्ष उम्मेदवार मतगणना माग गर्दै सर्वोच्च अदालत जानुभएको थियो । कामु प्रधानन्यायाधीश दीपक कार्की र महान्यायाधिवक्ता खातीबीच प्रधानन्यायाधीशको च्याम्बरमा छलफल भएलगत्तै कार्कीको इजलासले पुनः मतदानको पक्षमा आदेश दिएको थियो । बुढीगंगामा भएको पुनः मतदानको गणनामा एमालेको अग्रता बढ्दै गएका बेला थापाले आफूहरु विजयोन्मुख रहेको भन्दै यो चुनावमा प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको पराजय हुने टिप्पणी गर्नुभएको हो ।