जनता टाइम्स

४ श्रावण २०७६, शनिबार २०:०३

जुवाखालबाट समातिएकी महिलाले जनजाती नेता आङकाजी शेर्पाको नाम लिएपछि..


काठमाडौं, साउन ४ । महानगरीय प्रहरी बृत्त बौंद्धले जुवाखालमा छापा मारी १ लाख ५६ हजार रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिला र ३ पुरुष जुवाडे रहेका छन ।

महाँकाल पानीट्याँकी नजिक एक घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो जुवाघर कान्छीमाया शेर्पाले सञ्चालन गर्दै आएकी थिइन । प्रहरीले आज छापा मारी सञ्चालक कान्छीमायासहित भेषकुमार मगर, जंगबहादुर लामा, पेम्बा शेर्पा, कान्दी शेर्पा, डोल्मा शेर्पा, लमु शेर्पा, योक शेर्पा र जीतमाया शेर्पालाई पक्राउ गरेको हो । सो जुवाखालबाट१ लाख ५६ हजार ५० रुपैयाँ र १० बुक तास बरामद भएको छ ।

पक्राउ परेकीमध्ये एक महिलाले आफू जनजाती नेता आङकाजी शेर्पाको पत्नी भएको जिकिर गरेको प्रहरी स्रोतले बताएको छ । ती महिलाले आफू आङकाजीको श्रीमती भएको बयान दिएपनि प्रहरीले हिरासतमा राखेको छ भने यस बिषयमा कुनै जानकारी दिएको छैन । ‘आङकाजीको श्रीमती हुँ भन्ने बताए पनि हामीले सवैलाई हिरासतमा राखेका छौं,’ बौंद्ध बृत्तका एक अधिकारीले जनताटाइम्ससँग भने ।

बौद्ध बृत्तका प्रमुख डिएसपी नरेन्द्र चन्दले पनि जुवाखालबाट ६ महिला र ३ पुरुष पक्राउ गरिएको तर उनीहरु को हुन भन्ने बिषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताउनु भयो । ‘अनुसन्धानकै क्रममा रहेको छ, यस बिषयमा हामीलाई कुनै जानकारी छैन,’ डिएसपी चन्दले भने ।