जनता टाइम्स

२५ असार २०७९, शनिबार १४:०३

प्रदर्शनकारीले निवास घेरेपछि भागे श्रीलंकाली राष्ट्रपति


काठमाडौं, असार २५ । श्रीलंकामा प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति गोताबाया राजापाक्षको राजापाक्ष भाग्नुपरेको छ । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको सरकारी निवास प्रदर्शनकारीहरुले घेरेपछि उहाँ भाग्नुभएको हो ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चार माध्यमहरुले जनाएका छन । त्यसलगत्तै राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेको समाचार आएको हो ।

आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् । प्रदर्शनकारीहरूले भने राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन ।

प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए । प्रदर्शन चर्किदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बन्नुभएको छ ।