जनता टाइम्स

२६ असार २०७९, आईतवार १०:५७

काठमाडौं आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियान्चाओ, यी हुन भ्रमणका ४ उदेश्य


काठमाडौं, असार २६ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज काठमाडौं आइपुग्नु भएको छ । लिउ चार दिने नेपाल भ्रमणको क्रममा आज काठमाण्डौं आइपुग्नु भएको हो । चीनको छेन्दुबाट आएको सीए ४३७ उडान नम्बरको एअर चाइनाको चार्टर विमान १० बजेर ५ मीनेटमा काठमाडौंमा अवतरण गरेको हो । लिउ नेतृत्वको टोलीमा छ जना सदस्य छन् ।

लिउलाई परराष्ट्रमन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवतीरमण पौडेलले स्वागत गर्नुभयो । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटने कार्यक्रम रहेको छ । मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा लिउको सम्मानमा आजै रात्रिभोज कार्यक्रमको आयोजना गर्नुभएको छ ।

उहाँले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्दै हुनुहुन्छ । लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग मंगलवार भेटवार्ता गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीलाई लिउले मंगलवार विहान १० बजे बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

चिनियां विदेश विभाग प्रमुखले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेर स्वदेश फर्कने कार्यक्रम छ । गत जुन महिनामा सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउको पहिलो विदेश भ्रमण नेपालबाटै सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अमेरिकातिर बढी ढल्किएको देखिएका बेला लिउको नेपाल भ्रमण भएको हो ।

नवनियुक्त भएकाले लिउको नेपाल भ्रमणको पहिलो ‘टार्गेट’ सम्बन्ध सुधार हो । नेपाली नेताहरूसंग औपचारिकरअनौपचारिक सम्बन्ध सुधार गर्ने प्रमुख उद्देश्य बोकेर उनी नेपाल भ्रमणमा आउन लागेका जानकारहरू बताउंछन् ।

चीनले नेपालमा कम्युनिस्ट एकता होस् भन्ने चाहन्छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुंदा चीनबाट उच्चस्तरीय टोली नै आएर पार्टी एकता कायमै राख्ने प्रयास गरेको थियो । नेपालका लागि चिनियां राजदूत होउ यान्छीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाललाई सांझ बिहान भेट्ने गरेकी थिइन् तर चिनियां चाहना भने त्यतिबेला सफल हुन सकेन ।

अध्यक्षहरू प्रचण्ड र माधव नेपालको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाल सरकार अमेरिकासंग नजिक देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरिएको छ भने सैन्य सहकार्य लगायतका विवादित विषय अगाडि बढेका छन्, जसलाई चीनले रुचाइरहेको छैन । कम्युनिस्ट पार्टीहरू एकै हुंदासम्म एमसीसी पारित हुन सकेको थिएन । अमेरिकाले पछिल्लो समय एसपीपी अघि नबढ्ने भएपछी स्टाटस अफ फोर्सेस एग्रिमेण्ट ९सोफा० मा हस्ताक्षर गर्न लविङ सुरु गरेको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको दौरान त्यसलाई मूर्त रुप दिने सम्भावना पनि छ ।

कम्युनिस्ट एकता हुँदा अमेरिका विरोधी मत पार्टीमा बलियो हुने र चिनलाई त्यसले फाइदन पुग्ने विश्लेषण छ । तर,कम्युनिस्ट विभाजित भएर कांग्रेससंग गठबन्धन हुंदा अमेरिकी लबी प्रभावशाली देखिएको छ । यो कुरालाई चीनले राम्रोसंग बुझेको छ ।

कम्युनिस्ट विभाजित भएका बेला हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस बलियो भएर आएको छ । स्थानीय चुनावकै जस्तो अवस्था प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि देखिएमा नेपालमा कम्युनिस्टको मूल शक्ति सत्ताबाहिरै बस्नुपर्ने र कांग्रेस हर्ताकर्ता हुनेछ । तसर्थ आसन्न चुनावअघि नै कम्युनिस्ट एकता गराउनु विदेश विभाग प्रमुख लिउको अर्को ‘टार्गेट’ हुनेछ ।

यसै भ्रमणबाट कम्युनिस्ट एकता सुनिश्चित नभए पनि एकताको सम्भावना अध्ययन गर्ने र पृष्ठभूमि तयार पार्ने काम लिउको भ्रमणले गर्ने बिश्वास रहेको छ । चुनावको मुखमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट भागबण्डाको कुरा नमिल्दा चिनियां पक्ष सक्रिय भएर कम्युनिस्ट एकताको सेतु बन्न सक्नेछ । माओवादी केन्द्र र एमालेका नेताहरुलाई मिलाउन चिनियां पक्ष भित्र भित्रै सक्रिय समेत भइरहेको स्रोत बताउंछ । लिउको भ्रमणले त्यसलाई अझ बल पुग्नेछ ।

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा हस्ताक्षर गरिसकेको भए पनि तीब्रताका साथ अगाडि बढ्न सकेको छैन । नेपाल सरकारको उदासिनताका कारण बीआरआईका गतिविधि अगाडि बढ्न नसकेको चिनियां निष्कर्ष छ । बीआरआईका कार्यक्रम र योजनालाई तीब्रताका साथ अगाडि बढाउन नेपाल सरकारलाई सक्रिय बनाउनु लिउ भ्रमणको अर्को ‘टार्गेट’ हो । बीआरआई अगाडि बढेमा नेपालमा चिनियां पहुंच र गतिविधि बढ्ने चीनको अपेक्षा छ ।

चीनका छिमेकी दक्षिण एसियाली देशहरूमा अमेरिकाले प्रभाव जमाउन छुट्टै रणनीति बनाएर अगाडि बढिरहेको छ भने चीनले त्यो प्रभावलाई रोक्न खोज्दैछ । अमेरिकी प्रभाव र रणनीति रोक्नु लिउ भ्रमणको अर्को ‘टार्गेट’ हो । अमेरिकी प्रभाव रोक्न लिउले चुनाव, सरकार निर्माण, गठबन्धन, पार्टी एकता लगायत सम्भावित विषयमा नेताहरूसंग छलफल गर्ने जनाइएको छ ।