जनता टाइम्स

२७ असार २०७९, सोमबार ०९:५७

ओलीलाई निवासमै, प्रचण्ड-माधवलाई होटलमा भेटदै चिनियाँ नेता लिउ


काठमाडौं, असार २७ । नेपालो चार दिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ भ्रमण र भेटघाटमा व्यस्त हुनुहुन्छ । आइतबार नेपाल आइपुग्नु भएका लिउ आज बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमण गर्नुभएको छ ।

आज बेलुका उहाँले सोल्टी होटलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुहुनेछ । परराष्ट्रका एक अधिकारीका अनुसार त्यहाँ उहाँहरु रात्रिभोजमा सरिक हुनुहुनेछ ।

यस्तै, भोलि मंगलबार लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटघाट गर्ने कार्यक्रम छ । ओली निवास बालकोट पुगेर लिउले एमाले अध्यक्ष ओलीसँग लन्च मिटिङमा सहभागी हुने बताइएको छ ।

दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्ने कार्यक्रम छ । मंगलबारै उहाँले एमालेका उपत्यका अध्यक्ष कृष्ण राई र माओवादीका उपत्यका अध्यक्ष उमेश स्थापितसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने बुधबार भेट्ने कार्यक्रम रहेको छ ।

लिउले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पार्नुभएको थियो । लिउ बुधबारनै बेइजिङ फर्कने कार्यक्रम छ ।