जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ०८:०७

काठमाडौंमा मेट्रो रेल्वेको डीपीआर तयार लागि ६ कम्पनी छनौट


काठमाडौं, साउन ५

सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।

विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव (आरएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव (आरएफपी) हालेका थिए । प्रस्तावकमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरूसित डीपीआर तयार पार्नका लागि प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ ।

ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डीपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए । डीपीआर तयार गर्न १२–१३ करोड रुपैयाँ लाग्ने अनुमान विभागको छ । ‘साउनभित्र डीपीआर तयार पार्न ६ वटा कम्पनीमध्येबाट एउटा छनोट गरिसक्छौं,’ मिश्रले भने, ‘छनोट भएको कम्पनीले ढिलोमा डेढ वर्षभित्र डीपीआर तयार पार्नेछ ।’ डीपीआर तयार भएपछि संघीय राजधानीमा मेट्रो रेल्वे निर्माण प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ । मिश्रका अनुसार बूढानीलकण्ठबाट महाराजगन्ज हुँदै चक्रपथै चक्रपथ सातदोबाटोसम्म रेल्वे बनाइनेछ ।

पाँच सय जनासम्म यात्रु बोक्न सक्ने मेट्रो हरेक २ देखि ३ मिनेटको अन्तरालमा आउजाउ हुने गरी रेल्वे बनाउने तयारी छ । बूढानीलकण्ठबाट सातदोबाटोसम्म त्यति क्षमताको रेल्वेका लागि यात्रु पर्याप्त पुग्ने र रेल आर्थिक रूपमा फाइदाजनक हुने सम्भाव्यता अध्ययनले देखाएको मिश्रले जानकारी दिए ।

सरकारले आफ्नै खर्चमा उक्त ठाउँमा रेल्वे निर्माण गर्ने सोच बनाएको छ । मिश्रका अनुसार मेट्रो रेल जमिनमुनि, जमिनमा वा माथि इलिभेटेड कहाँबाट चल्ने गरी बनाउने भन्ने निर्णय भने डीपीआरका आधारमा तय हुनेछ । रेल्वे निर्माण र सञ्चालनका लागि कति लागत लाग्ने भन्ने कुरा डीपीआर तयार भएपछि थाहा हुने जानकारी विभागले दिएको छ ।

‘जमिनबाट रेल्वे बनाउन सस्तो पर्छ, भूमिगत टनेलबाट र माथि इलिभेटेड रेल्वे बनाउन बढी खर्च लाग्छ,’ मिश्रले भने, ‘कसरी बनाउने भन्ने कुरा डीपीआरबाट तय हुनेछ । त्यसपछि मात्र लागत थाहा हुन्छ ।’ रेल्वेका लागि कति जमिन अधिग्रहण गर्नुपर्छ भन्नेसमेत डीपीआर तयार भएपछि मात्रै भन्न सकिने विभागका अधिकारी बताउँछन् । रेल्वेको यात्रु ओराल्ने र चढाउने स्टेसन बनाउन भने जग्गा अधिग्रहण गर्नुपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।

रेल्वेको बिसौनी चक्रपथ र बूढानीलकण्ठमा चल्ने बसको भन्दा कम संख्यामा हुने विभागका अधिकारी बताउँछन् । दोस्रो चरणमा सातदोबाटोदेखि चोभारसम्म रेल्वे निर्माण गर्ने विभागको योजना छ । उक्त ठाउँमा रेल्वे निर्माणका लागि बूढानीलकण्ठदेखि सातदोबाटोसम्मको डीपीआर तयार पार्ने कम्पनीले नै सम्भाव्यता अध्ययन गर्ने जानकारी मिश्रले दिए ।

चोभार र वरपरका क्षेत्रमा काठमाडौंबाट तराई–मधेस जोड्ने निर्माणाधीन फास्ट ट्र्याकका लागि सुक्खा बन्दरगाह निर्माण गरिँदै छ । सुक्खा बन्दरगाहमा लाने र ल्याउने सामान तथा फास्ट ट्र्याकबाट आउजाउ गर्ने यात्रुलाई ध्यान दिई दोस्रो चरणमा सातदोबाटोदेखि चोभारसम्म मेट्रो रेल्वे निर्माण गर्ने योजना विभागले बनाएको हो ।

यो रेलमार्ग ७ किमि लामो हुनेछ । सातदोबाटो–एकान्तकुना–नक्खु–भैंसेपाटी–मगरगाउँ–चोभार सडक आसपासबाट सातदोबाटोदेखि सुक्खा बन्दरगाहसम्म रेल्वे निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने जानकारी विभागले दिएको छ । बूढानीलकण्ठदेखि सातदोबाटोसम्मको डीपीआर तयार पार्ने कम्पनीले ६ महिनाभित्रै चोभारसम्मको रेल्वेको सम्भाव्यता अध्ययन गरी रेल विभागलाई दिनेछ । त्यसपछि उक्त ठाउँमा रेल्वे निर्माणका लागि डीपीआर तयार पार्ने काम थालिनेछ । (कान्तिपुरबाट)