जनता टाइम्स

२८ असार २०७९, मंगलवार १९:५९

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट मोहनचन्द्र अधिकारीसहित ६ जना स्रष्टा सम्मानित


काठमाडौं, असार २८ । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट ४ जना स्रष्टा सम्मानित हुनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलवार आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाहरुलाई सम्मानित गर्नुभयो ।

पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट सम्मानित हुनेमा धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्य, मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्णप्रसाद पोखरेल र पवित्र घर्ती रहनुभएको छ ।

सम्मानित कार्यक्रमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्दै उहाँको विचारलाई प्रेरणाको रूपमा लिएर देशको समृद्धिका लागि अगाडि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताउनु भयो । राष्ट्रको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान गरेका राजनीतिक व्यक्तित्वको दूरदर्शी विचार, मार्ग निर्देशन, त्याग र सङ्घर्षलाई सम्मान गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई छ ।

नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखन कार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनको इतिहास, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीन जना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम आर्थिक वर्ष २०६८र६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ ।

पुरस्कारहरूको राशि सम्मान पत्रसहित नगद एक लाख रुपैयाँ रहेको छ ।