जनता टाइम्स

२९ असार २०७९, बुधबार १६:५२

श्रीलंकाको संकट : प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीको कब्जामा


कोलम्बो, असार २९ । मुलुकलाई आर्थिक संकटमा पारेको भन्दै आन्दोलनरत श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा गरेका छन । सुरक्षाकर्मीसँग झडप भए पनि प्रदर्शनकारीहरु बार भत्काएर प्रधानमन्त्री कार्यालयमा दिउसोबाट कब्जा जमाएका हुन ।

समाचार संस्था न्युजवायरले जनाएअनुसार बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए। उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए । झडपमा दुबैतिरका केही मानिस घाइते भएका थिए।

प्रदर्शनकारी बढ्दै गएपछि सुरक्षाकर्मीले प्रधानमन्त्री कार्यालय जोगाउन सकेनन । बार भत्काएर प्रदर्शनकारी भित्र पसेका छन । यसअघि गत शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जामा लिएका थिए । प्रदर्शनकारीकै डरले श्रीलंकाली राष्ट्रपति गोटवाया राजापाक्षे भागेर माल्दिभ्स पुगेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति हुनुहुन्छ । प्रदर्शनकारीहरूले विक्रमासिंघेले पनि राजीनामा दिनु पर्ने माग गरिरहेका छन ।

सैनिक जहाजमा भागेर छिमेकी माल्दिभ्स पुग्नुभएका राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गर्नुभएको छ । श्रीलंकाको तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शनहरू बढ्दै गएपछि विक्रमासिंघेले यसअघि आफूले राजीनामा दिने बताएका थिए । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन्।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकामा थप तनाव बढेको छ ।