गोरखा, असार ३० । गाउँमाथिबाट झरेको पहिरोले गोरखा आरुघाट गाउँपालिका १ श्यामचेतमा १२ घर पुरेको छ। बुधबार दिनभर परेको अबिरल वर्षापछि साँझ करिब ६ बजे आएको पहिरोले अरू ४० घर जोखिममा पारेको वडाअध्यक्ष सूर्य घलेले जानकारी दिनुभयो।
पहिरोले विस्थापित भएकाहरू स्थानीय गुम्बा र सिद्धार्थ वनस्थली आधारभूत विद्यालयमा आश्रय लिइएर बसेका छन । ‘गुम्बामा ६ परिवार बसेका छन्। स्कुलमा ६÷७ परिवार छन, अरू आफन्तको घरहरूमा आश्रय लिन पुगेका छन,’ वडाअध्यक्ष घलेले भन्नुभयो ।
विस्थापित परिवारलाई गाउँपालिका कार्यालय, इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थलतर्फ सारेको तथा खाद्यान्न सामग्री रातिसम्ममा पुर्याएको उहाँले बताउनु भयो । पहिरोमा फँसेका २० जनालाई स्थानीयवासी र प्रहरी चौकी मान्बुका टोलीले उद्धार गरेको एसपी केदार खनालले जानकारी दिनुभएको छ । उद्धारका क्रममा पारमाया लामा घाइते हुनुभएको छ ।
गाउँको दायाँ–बायाँ र बीचबाट नै पहिरो झरेपछि स्थानीय मनबहादुर लामाको घर बगाएको थियो भने केशबहादुर लामा, नरबहादुर लामा, भक्तबहादुर लामा र देउमाया लामाको घर पहिरोले पुरेको स्थानीय कुमार लामाले जानकारी दिनुभयो। पहिरोले मनबहादुर लामा (क), मनबहादुर लामा (ख), गोरे लामा, काजी लामा, फुलबहादुर लामा, सागर लामाको घर पनि पुरेको छ।
रातिसम्ममा घटनास्थलमा गाउँपालिका अध्यक्ष राजु गुरुङ, १ का वाडाध्यक्ष सूर्य घले, इलाका प्रहरी कार्यालयका निरीक्षक रामजी देवकोटा नेतृत्वको टोली, सशस्त्र प्रहरीको टोली, वडा नम्बर २ र ३ का अध्यक्षहरू पुग्नुभएको थियो । सो स्थानमा २०७५ सालदेखि पहिरो जान थालेको हो। पहिरो रोकथाम भइरहेको थियो। रोकथाम गर्न बाँकी रहेको ठाउँबाट पहिरो झरेको हो ।












प्रतिक्रिया दिनुहोस्