काठमाडौं, असार ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर रक्षात्मक देखिनु भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति देउवा रक्षात्मक देखिनु भएको हो ।
देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको बुधबार एक वर्ष पुगेको बेलामा बसिरहेको बैठकमा नेताहरुले सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि जनाएका हुन् । पछिल्लो समय महंगी अत्याधिक बढेको छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । यसलाई लिएर कांग्रेस नेताहरुले सभापतिमाथि प्रश्न गरेका हुन् ।
सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र अहिलेसम्म देखिने तथा सुनिने गरी काम गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले नै जवाफ दिनु पर्ने अवस्था आएको छ । बुधबारको बैठकमा महाधिवेशनमा देउवालाई साथ दिएका नेता प्रकाशमान सिंहले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गर्नुभएको थियो । सिंहले चुनाव नजिकिँदै गरेको भन्दै यस्तो अवस्थामा कसरी जनतामाझ जाने भन्दै प्रश्न गर्नुभएको थियो ।
त्यस्तै नेता डा. शेखर कोइराला पक्षले पनि देउवामाथि गठबन्धन गर्न नहुने दबाब बढाइरहनु भएको छ । कोइराला पक्षले कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएर बहुमत ल्याउने गरि लाग्नु पर्ने भन्दै देउवामाथि दबाब दिएका छन् । तर देउवा रक्षात्मक देखिनु भएको छ । उहाँले गठबन्धन नगरे जित निकाल्न नसक्ने भन्दै आश्वस्त पारिरहनु परेको छ ।
त्यस्तै सभापति देउवामाथि प्रदेश २ मा कांग्रेस सिध्याउन लागेको आरोप पनि लागेको छ । केन्द्रीय सदस्य मीनाक्षी झाले सभापतिले नै कांग्रेस सिध्याउन लागेको आरोप लगाउनु भएको छ ।
’हाम्रो प्रतिष्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ?,’ उहाँको प्रश्न थियो, ’तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू ? किन महत्त्व बोकेको जनकपूरमा हामीलाई टिकट दिइएन । जसपालगायत क्षेत्री पार्टीहरुसँग भिड्नु छ, कांग्रेस बनाउन हो कि सिध्याउन ? हामी लगातार बनाउन लागेका छौं पार्टीको मूल नेतृत्व सिध्याउन ।’
कोइराला पक्षमाथि देउवा पक्षले गुटगत भेलाको आरोप लगाइरहँदा उक्त पक्षले सोही प्रश्न देउवामाथि नै तेस्र्याएको छ । कोइराला समूहले विगतमा आफूले गरेका भेलालाई कसरी लिनुहुन्छ ? भन्दै प्रश्न गरेको छ ।
सो समूहका नेता अर्जुननरसिंह केसीले जारी केन्द्रीय समितिको बैठकमा भन्नुभयो, ’ठूलो हलको व्यवस्था होस, कोठा दिइयोस । हाम्रो समूहका सबै साथीहरु अट्ने खालको हुनुपर्छ । पार्टी कार्यालयमै छलफल गर्छौँ । अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुरजीले विगत सम्झिने कि नसम्झिने ? हिजो उहाँ प्रतिपक्षमा हुँदा गरेका भेलाबारे के भन्नुहुन्छ ?’
बुधबारको बैठकमा देउवा निकटका केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरेको बारेमा प्रश्न गरेका थिए । उनीहरुले कोइराला समूहका लागि पार्टी कार्यालयमै छुट्टै कोठा उपलब्ध गराउन आग्रह गरेपछि आज कोइराला समूहले यस्तो प्रश्न गरेको थियो ।
प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवा प्रहरीको हतियार खरिद प्रकरणमा पनि रक्षात्मक देखिनुभयो । बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले जवाफ दिनुभयो ।
सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको उहाँको दाबी थियो । ’हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,’ देउवाले भन्नुभयो ।
नेताहरुले सरकारमाथि र पार्टी सञ्चालनको विधीमाथि निरन्तर प्रहार गरिरहँदा देउवा रक्षात्मक देखिएनु भएको हो । तर, उनी सजिलै सम्झौता गर्ने नेता भने होइनन् । जसको उदाहरण उहाँले बैठकमै दिनुभएको छ । सभापतिको निर्वाचनका बेला एमाले फेरि सत्तामा फर्कने त्रास देखाउनु भएका देउवाले यसपटक पुनः पार्टीको सत्तामा तेहेरिनका लागि विधान संशोधन गर्ने धम्की दिनुपर्यो । देउवाले विधान संशोधन गरेर फेरि सभापति उठ्न सक्ने बताउनु भएको छ । कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न मिल्दैन । देउवाको यो दोस्रो कार्यकाल हो ।
आफू रक्षात्मक बनेकै कारण बैठकमा देउवाले आफूलाई नजिस्क्याउन धम्की दिनुभयो । ‘फेरि सभापति हुन मलाई रहर छैन तर तपाईंहरूले जिस्क्याउनुभो भने फेरि उठ्न सक्छु’ देउवाको भनाई थियो । केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवा क्रुद्ध हुनुभएको हो । उहाँले गठबन्धन नगरी जितेर देखाउन नेताहरुलाई चुनौती दिनुभयो । ‘गठबन्धन गर्ने हो। एक्लै बहुमत ल्याउन गाह्रो छ’ देउवाले भन्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्