जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १४:३९

चेकिङमा बसेको प्रहरीलाई नै घुस दिएपछि…


काठमाडौं, साउन ५ । प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । चेकजाँचको क्रममा प्रहरीलाई नै घुस दिएपछि काठमाडौं महानगरपालिकास्थित टुकुचाबाट एक युवा पक्राउ परेका छन ।

प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीलाई घुस दिएपछि पक्राउ पर्नेमा काठमाडौं नयाँबजार बस्ने काभ्रे चौभास नगरपालिका ४ घर भएका ३४ वर्षीय सुनिल तामाङ हुन । उनलाई गएराती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा ७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक तामाङको साथमा चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ ग्राम फेला परेकोले कारबाहीबाट बच्न उक्त नगद दिई प्रलोभनमा पार्न खोजे पश्चात् उनलाई स्कुटरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।