काठमाडौं, साउन २ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आमनिर्वाचनका तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण सुरु गरेको छ ।चुनावलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
एमालेले आज मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको थालनी गर्नुभएको छ । एमालेले मंगलबार प्रदेश १ को विराटनगर, बुधबार वाग्मतीको काठमाडौं, साउन ८ गते गण्डकीको पोखरामा प्रदेशस्तरीय प्रशिक्षणको मिति तोकेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार अन्य प्रदेशको मिति भने तोक्न बाँकी छ ।
‘आगामी चुनावसम्म सबै कार्यकर्ताहरूमा कम्तीमा एउटा प्रशिक्षण कार्यक्रममा सहभागी हुनसक्ने गरी कार्यक्रम तय गरिएको छ,’ रिजालले भन्नुभयो । एमालेले भौतिक उपस्थिति र भर्चुअल दुवै तरिकाबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
संयोजनका लागि एमालेले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई सातवटा प्रदेशको जिम्मेवारी दिएको छ । प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, वाग्मतीमा उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रशिक्षण कार्यक्रमको संयोजनको जिम्मेवारी तोकिएको छ ।
एमालेले स्थानीय निर्वाचनको परिणामपछि प्रतिरक्षात्मक मनोविज्ञान रहेका कार्यकर्तालाई त्यसबाट बाहिर ल्याउन देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो । प्रशिक्षणको विषयवस्तु र विधिको संयोजन भने स्कुल विभागले गरेको हो ।
एमालेले स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, देशभित्रको राजनीतिक सन्तुलन, पार्टीको सामर्थ्य विस्तार र राष्ट्रको मुख्य शक्ति रुपमा एमालेको भूमिका अभिवृद्धि, पार्टी र जनप्रतिनिधिहरूबीचको अन्तरसम्बन्ध, समन्वय र स्थानीय तहबाट पार्टीले खेल्नुपर्ने भूमिका, पार्टी पंक्तिलाई अनुशासित, जनशैलीयुक्त र आर्थिक रुपमा स्वस्थ एवं व्यवस्थित बनाउनेसम्बन्धी विषयहरूलाई राखेको छ ।
त्यसैगरी महँगीको विषयमा आन्दोलन, प्राकृतिक विपत्मा स्वयंसेवक परिचालन र प्रचार कार्यलाई सशक्त बनाउने र पार्टी काममा सूचना प्रविधिको प्रभावकारी प्रयोग विषयमा रहेका छन । प्रशिक्षणमार्फत कार्यकर्तालाई जनतामा जानका लागि प्रोत्साहित गर्ने एमालेको योजना रहेको छ ।













प्रतिक्रिया दिनुहोस्