जनता टाइम्स

२ श्रावण २०७९, सोमबार १८:३१

थप २ न्यायाधीशमाथि कार्वाही, दश दिनमा पाँच न्यायाधीश पदमुक्त


काठमाडौं, साउन २ । न्याय परिषद्ले थप दुई न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ । आज बसेको न्याय परिषदको बैठकले उच्च अदालत महेन्द्रनगरका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार खराव आचरणका कारण पदमुक्त गर्न सिफारिश गरिएको हो । ‘खराब आचरण गरेको र अनुचित प्रभावमा परेर फैसला गरेको आरोपमा छानबिन हुँदा दुवै न्यायाधीश दोषी पाइएकाले पदमुक्त गर्न सिफारिस गरेको हो,’ कार्कीले भन्नुभयोे । सोमवारको निर्णयसँगै दस दिनभित्र खराब आचरण र अनुचित प्रभावमा परेर फैसला गरेको भन्दै परिषद्ले ५ जना न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

परिषदले गत शुक्रबार उच्च अदालत जुम्लाका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । यस्तै परिषद्ले गत असार २४ मा उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । यी तीनै जना न्यायाधीशहरुलाई कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पदबाट हटाइसक्नु भएको छ ।