काठमाडौं, २ साउन । सामाजिक सञ्जालमा अपरिचित साथी बनाउँदा कयौँ व्यक्ति हैरानी व्यहोर्न पुगेका छन्।
विशेष गरी पछिल्लो समय विभिन्न गिरोहले व्यवसायी वा पुरुषलाई हनी ट्रयापमा पारेका घटना बाहिरिन थालेका छन्।युवतीहरूलाई प्रयोग गरेर ब्ल्याक मेल गरेको अभियोगमा ६ जना नियन्त्रणमा लिएको एक महिनापनि नबित्दै प्रहरीले पुनः तीन जनालाई समातेको छ।
काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याएको अभियोगमा आइतबार एक महिलासहित तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका ६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक बनेका सोही ठाउँका सञ्जय कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
उहाकाअनुसार उनीहरुले बस्नेत मार्फत एक व्यवसायीलाई धम्की दिएर पैसा मागेका थिए। उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने र प्रत्यक्ष भेटघाटपछि झूटा मुद्दा लगाएर फसाइदिने भन्दै ठूलो रकम माग गर्ने गरेका प्रहरीले जनाएको छ।
उक्त गिरोहले दबाबमूलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी निरीक्षकसमेत खडा गरी मोलमोलाई गर्ने र मानसिक रुपमा दुख दिने गरेका थिए।साथै सामाजिक सञ्जालमार्फत नै पीडितको परिवार, नातेदार, साथीभाइहरुलाई साथी बनाई प्रहरीमा निवेदन दिएको छु भनी नक्कली प्रहरीसँग कुरा गरिराखेको रेकर्ड पठाएर धम्की दिने गरेका प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले उपत्यकाका विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने/गराउने र त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए।सबै विवरण संकलन गरेपछि मुद्दा लगाएर फसाइदिने, डर धम्की दिएर मोलमोलाई गर्ने तथा नक्कली प्रहरी, वकिल तथा परिवारका सदस्य समेत नक्कली नै खडा गरेर हैरानी दिने गरेको खुलेको छ।













प्रतिक्रिया दिनुहोस्