जनता टाइम्स

३ श्रावण २०७९, मंगलबार १८:०१

राजेन्द्र लिङदेनप्रति गम्भीर असहमति राख्दै राप्रपाका चार नेताले गरे पार्टी परित्याग


काठमाडौं, असार ३ । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गर्नुभएको छ । अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैली र नीतिप्रति असहमति राख्दै बरिष्ठ नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले राप्रपा त्याग्नुभएको हो ।

उहाँहरुले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गर्नुभएको छ । नेताहरुका अनुसार अध्यक्ष लिङदेनले आफूहरुको अपमान गरेको कारण पार्टी छोड्नु परेको हो ।

‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो । यो एउटा विधि, पद्धति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका लागि स्वीकार्य हुन सक्ने विषय थिएन,’ विज्ञप्तिमा भनिएको छ।

उहाँहरूले नेतृत्वलाई आफ्नो कार्यशैली सुधार गर्न दबाब दिँदै आउनु भएको थियो । खासगरी केही समययता उहाँहरू राप्रपाले राजसंस्थाको एजेन्डा छाडेको असन्तुष्ट रहँदै आएका थिए । उहाँहरूले देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख पनि गर्नुभएको छ ।