जनता टाइम्स

६ श्रावण २०७६, सोमबार ०९:३५

लोकसेवा विज्ञापनको विरोध गर्नुको औचित्य छैन – चित्रबहादुर केसी


काठमाडौं, साउन ६

राष्ट्रिय जनमोर्चाले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको जनाएको छ । लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ पदमा निकालेको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै जनजाति आदिवासीले विरोध गरिरहेका बेला जनमोर्चाले भने सो विरोधको औचित्य नभएको प्रष्ट पारेको हो ।

स्थानीय तहले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेर विज्ञापन गर्न लोकसेवालाई जिम्मा दिएकाले यसमा कसैले विरोध गरिरहनु नपर्ने उसले जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधान र कानुन विपरित नरहेको बताउनुभयो । स्थानीय पालिकाले माग गरेको कर्मचारी दरबन्दी सख्या न्यून भएको र सेवा समूह पनि बेग्लाबेग्लै भएकाले त्यही अनुरुप लोकसेवाले विज्ञापन गरेको उहाँले बताउनुभयो ।