जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार ०७:५२

बाढीपहिरोले सिन्धुपाल्चोकमा यातायात सेवा अवरुद्ध, पहिरोको त्रासले स्थानीयवासी रातभर घर बाहिरै


काठमाडौं, ५ साउन ।  गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डका ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाटाहरु अवरुद्ध भए पनि जिल्लामा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।गएराति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वष मापन भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।