काठमाडौं, साउन ५ । सभामुख अग्नि सापकोटाले अमेरिकी एसपीपी सम्झौताका विषयमा संसदलाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
सांसदहरुको माग सम्बोधन गर्दै सभामुख सापकोटाले एसपीपी संझौताका बिषयमा अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रीपरिषदले गरेको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन रुलिङ गर्नभएको हो । आज बसेको प्रतिनिधिसभा वैठकमा सभामुख सापकोटाले सरकारलाई यस्तो रुलिङ गरेका हो ।
संसद वैठकमा थुप्रै सांसदहरुले सरकारले अमेरिकालाई पत्र नपठाएको विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । खासगरी बुधवारको वैठकमा एमाले नेता भीम रावलले रोष्टम नै कब्जा गरेर सभामुखबाट यस विषयमा रुलिङ हुनुपर्ने माग गर्नुभएको थियो । रावललाई साथ दिँदै आजको वैठकमा सत्तारुढ पार्टीकै सांसदहरुले पनि सभामुखबाट रुलिङ हुनुपर्ने माग गरेपछि सरकारलाई रुलिङ भएको हो ।

एमाले सांसद रावललाई साथ दिँदै आज एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका देव गुरुङले पनि रुलिङ हुनुपर्ने आवाज उठाउनु भएको थियो ।
‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्वन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्वन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाका बारेमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुखले भन्नुभयो । सभामुखले रुलिङ गरेसँगै एमाले नेता रावलको माग पूरा भएको छ ।













प्रतिक्रिया दिनुहोस्