जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार १८:५२

नागरिकता बिद्येयकमा सरकारले छल र बेइमानी गर्यो : भीम रावल


काठमाडौं, साउन ६ । नेकपा एमाले नेता भीम रावलले नागरिकता बिद्येयकमा गठबन्धन सरकारले छल गरेको ठोकुवा गर्नुभएको छ । सरकारले प्रतनिधिसभामा प्रस्तुत नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव राख्नुभएका सांसद रावलले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताउनु भयो ।

’यो छलफल होइन, छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो संवदेशनशील विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो र निरंकुशता हो,’ सांसद रावलले भन्नुभयो । उहाँले बिश्वमा कतै नभएको ब्यवस्था नेपालमा गरेर मुलुककै सार्वभौमिकतामाथि गम्भीर खेलवाड गरेको बताउनु भयो ।

उहाँले थप्नुभयो, ‘संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न । संविधान निर्माणको समयमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयावधि ५ वा ७ वर्ष नेपालमा निरन्तर रूपमा बसोबास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमतिविपरीत राज्य व्यवस्था समितिले निर्णय गरी सात वर्ष प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनीतिक अनैतिकता पनि हो ।’

रावलले विशाल जनसंख्या भएका दुई वटा देशको बीचमा संवेदनशील भूराजनीतिक अवस्थिति रहेको उल्लेख गर्दै जनसंख्याको राजनीतिमा पारेर नेपाललाई दीर्घकालीन संकटमा पार्ने ठूलो भूमरी सिर्जना गरिएको ठोकुवा पनि गर्नुभयो । ’सत्ताका लागि यस्तो गर्नु भनेको आफ्नो अन्तरआत्मालाई सोधौं, यो अन्याय हो कि कर्तव्यपरायण वा यो नेपालको संविधानको पालना हो कि बेइमानी हो आफूलाई सोधौँ ?,’ रावलले भन्नुभयो ।