जनता टाइम्स

७ श्रावण २०७९, शनिबार १४:५६

सत्ता साझेदार कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली


बुटवल, ७ साउन । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गर्नुभयो ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो,‘अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाइएको थियो, त्यो फेल खायो, अव बाम एकताको फन्दा चलाइएको छ ।’

कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरूसँग भने चुनावी एकता हुन सक्ने बताउनुभयो । गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसिनुपर्छ भन्ने मान्यताबाट टाढा रहेको बताउनुभयो ।

‘सत्ता नै सबै कुरा हो भनेर जोसँग पनि लहसिने काम एमालेले गर्दैन,’ ज्ञवालीले भन्नुभयो । छुट्टै प्रसंगमा उपमहासचिव ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदहरूको भावनामा चोट पुर्याएको बताउनुभयो । उहाँले माओवादी केन्द्रकै सांसदहरूले संशोधन प्रस्ताव राखेको नागरिकताको वैवाहिक अंगिकृत नागरिकताको एजेण्डा विपरित विधेयक पास गरिएको बताउनुभयो ।

रहस्यमय तरीकाबाट विधेयक पास गरिएको उहाँको भनाइ छ । वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी पारित विधेयक देशको हितमा नभएको उहाँको दावी छ । नोकरी, व्यापार, व्यवसाय र अन्य क्रियाकलाप गर्न दिए पनि विवाह गरेर ल्याएलगत्तै नागरिकता दिनुपर्ने मागको एमालेले पहिले पनि विरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताउनुभयो ।

वैवाहिक अंगिकृतबहेकका अन्य एजेण्डामा भने सरल र सहज तरीकाले हरेक नेपालीले नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उहाँले प्रष्टाउनुभयो । ‘नागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ,’ उहाँले भन्नुभयो ।