जनता टाइम्स

७ श्रावण २०७९, शनिबार १६:४६

विवेकशील साझाका कमाण्डर नै एमाले प्रवेश


सुर्खेत, साउन ७ । विवेकशील साझा पार्टीको कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दाहाललाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।

विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि दाहाल त्यसको विपक्षमा उभिउनु भएको थियो ।

विवेकशील साझाको कार्यसम्पादन समितिका सदस्य समेत रहेका दाहाललाई मिश्रले कार्यसम्पादन समिति र कर्णाली प्रदेश संयोजकको जिम्मेवारीबाट हटाएका थिए ।

देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशील साझा पार्टीले नसक्ने देखिएपछि एमालेमा प्रवेश गरेको दाहालले बताउनु भयो ।

एमालेमा प्रवेश गर्दै दाहालले स्थायित्व, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको काम एमाले बाहेकको अन्य शक्तिले गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्‍नुभयो, ‘गरीबको चुलोमा आगो बलेको छ कि छैन भन्ने सोचेर अघि बढ्ने विचार नै जबज हो । जबजको सही कार्यान्वयन गर्न सकेमात्रै नेपालका नौला तानाशाहलाई तह लगाउन सकिन्छ।’

२०७४ मा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका दाहाल पछि मिश्रको साझा पार्टीमा लाग्नु भएको थियो । कर्णालीमा उहाँलाई विवेकशील साझाले कमाण्डरको रुपमा दर्जा दिएको थियो ।