जनता टाइम्स

८ श्रावण २०७९, आईतवार १८:२७

भत्ता पचाउन हाजिर गरेर सत्तारुढ सांसद हिडेपछि कोरम नपुगी संसद् बैठक स्थगित


काठमाडौं, साउन ८ । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गर्नुभएको थियो । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपूग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो । सत्तारुढ दलका सांसदहरु हाजिर गरेर भत्ता पचाउने र संसदमा नबस्ने गर्दापटक पटक कोरम नपुग्ने समस्या रहेको छ ।