जनता टाइम्स

९ श्रावण २०७९, सोमबार २०:३८

गठबन्धनबिना चुनावमा जानै नसक्ने माधव नेपालको स्वीकारोक्ति


पोखरा, साउन ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबिना चुनावमा जित्न सक्ने अवस्था नरहेको औपचारिक स्वीकारोक्ति गर्नुभएको छ ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताउँदै एक्लै चुनाव जित्ने आधार नरहेको स्वीकारोक्ति गर्नुभएको हो । पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेसँग प्रतिस्पर्धा गर्न एक्लै नसक्ने भएकोले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता दिन तयार रहेको बताउनु भयो ।

‘विगतका कुरालाई सुधार गरेर आगामी दिनमा नदोहोरिने गरी लाग्छौं । आगामी दिनमा नदोहोरियोस् भनेर माओवादीका नेताले भनिरहनुभएको छ । कसैले अन्य ढंगले कुरा गरिरहेका छन्,’ नेपालले भन्नुभयो, ‘नेपाली कांग्रेसले कतिको महसुस गर्छ, हेर्न बाँकी छ । गठबन्धन टुट्नेवाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ ।’

उनले राम्रो ठाउँमा आफैँ लिएर उब्रेको ठाउँमा मात्रै दिने सोच कुनै पार्टीले गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । ‘सबै सिट आफैँ लिउँला उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौं,’ उहाँले भन्नुभयो, ‘आफ्नो शक्तिमा अडिएर अगाडी बढ्छौं । शक्ति बनाउने कुरामा आवश्यक समयमा भ्रम चिर्नुपर्छ ।’

नेपालले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी दक्षिणपन्थी रूपमा भासिएपछि विद्रोह गरेको सम्झँदै आफूले पनि अप्ठेरो परेपछि विद्रोह गरेको बताए । ‘हामीले २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको थियो । त्यसपछि दुई तिहाइ बहुमत पाएको थियो । यसलाई उपयोग गरेको भए कम्युनिस्ट पार्टी अत्यन्तै लोकप्रिय हुने थियो,’ नेपालले भन्नुभयो ।